इन्द्रेणीमा कसैको आँखा ओभानो रहेन, सिङ्गो साङ्गीतिक क्षेत्रलाई रुहाउँदै, कहिल्यै नफर्किने गरी विदा भइन् निरा (भिडियो सहित)

 

गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।
प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो–सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा‘’

जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भनेभौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो ।

गत वर्ष उहाँ आफँैले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने अभिलाषामा पनि ठेस पुगेको छ ।

बडिगाड–८ का टीका पाइजाले निरा छन्त्यालले सानैदेखि रुची लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।”

निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा बडिगाड ३ सिसाखानीको ऐतिहासिक सति घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै कञ्चनापुर प्रा.बी. र सिसाखानी मा.वि. मा पूरा गर्नुभएको थियो । सिसाखानी मा.बि. का शिक्षक कमल भुजेलले पनि आफ्नो बिद्यालयले गर्व गर्न लाएक बिद्यार्थी गुमाउदा गाउँसँगै बिद्यालय परिवार पनि स्तव्ध भएको बताउनुभयो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ ।